सर्लाही – सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि लगातार चार दिन बिदा पर्ने भएको छ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका अवसरमा जेठ १४ गते देशभर सार्वजनिक बिदा रहने जनाएको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार राजपत्रमा प्रकाशित व्यवस्था अनुसार उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

यसअघि नै जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भइसकेको छ। त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले चार दिनसम्म सरकारी कार्यालय, विद्यालय तथा अधिकांश सार्वजनिक संस्था बन्द रहनेछन्।





