सर्लाही – महोत्तरीमा शुक्रबार डुबेर चार जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका र गौशाला नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा बालिकाहरूले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँस्थित अङ्कुशी र जंघा नदीको दोभानमा नुहाउन गएका तीन बालिकाको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा वीरेन्द्र भण्डारीकी १२ वर्षीया स्नेहा कुमारी, ६ वर्षीया शिवानी कुमारी तथा अजिज नदाफकी १२ वर्षीया अफसाना खातुन रहेका छन् ।

प्रहरीका अनुसार तीनै जना बालिका शुक्रबार दिउँसो नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा अचानक खुट्टा चिप्लिएपछि उनीहरू गहिरो पानीमा डुबेका थिए । स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूलाई बाहिर निकालिए पनि घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
यस्तै, गौशाला नगरपालिका–४ रजखोर गाउँमा दुई वर्षीया दीपिका कुमारीको पनि डुबेर मृत्यु भएको छ । घर नजिकै खेतमा जमेको पानीमा खेल्ने क्रममा डुबेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । दीपिका स्थानीय नरेश महतोकी छोरी हुन् ।
मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





