सर्लाही – नेपाल–भारत सीमाक्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि, सीमा सुरक्षा र डुबान समस्यालाई लिएर भारतको सीतामढीमा दुवै देशका सुरक्षा तथा प्रशासनिक अधिकारीबीच बैठक सम्पन्न भएको छ।
शनिबार भएको उक्त बैठकमा सीमाक्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा दुई देशबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल गरिएको हो। बैठकमा नेपाली टोलीको नेतृत्व महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका थिए भने भारतीय पक्षको नेतृत्व सीतामढीका डीएम संजीव कुमारले गरेका थिए।

छलफलमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, विभिन्न सुरक्षा निकाय, भन्सार कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलका क्रममा सीमावर्ती क्षेत्रमा भइरहेका आपराधिक गतिविधि नियन्त्रण, अवैध हतियार तथा सवारी साधनमाथि निगरानी, आतंकवादी तथा सशस्त्र समूहको गतिविधिबारे सूचना आदान प्रदान गर्ने विषयमा विशेष जोड दिइएको थियो।
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाउने, पक्राउ परेका व्यक्तिको छिटो हस्तान्तरण प्रक्रिया अघि बढाउने र आपराधिक अभिलेख साझा गर्ने विषयमा पनि सहमति जुटाइएको जनाइएको छ।
त्यसैगरी, लागूऔषध तस्करी, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, अवैध तस्करी तथा मदिराको अवैध कारोबार नियन्त्रणका लागि संयुक्त रूपमा कडाइ गर्ने विषयमा समेत छलफल भएको महोत्तरीका प्रजिअ यादवले जानकारी दिए। बैठकमा सीमा स्तम्भको संरक्षण र अतिक्रमणका विषय पनि उठाइएको थियो।
क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत, संयुक्त स्थलगत निरीक्षण तथा अतिक्रमण हटाउने विषयमा दुवै पक्षबीच समझदारी बनेको बताइएको छ। बैठकमा सहभागी अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र कानुनी व्यवस्था कायम राख्न संयुक्त प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।





