सर्लाही – सर्लाहीका दुई युवक बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिबार पाँच जनाको समूहमा नुहाउन गएका उनीहरू नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका – ५ निवासी गणेश महतो र रोहित महतो रहेका छन् । उनीहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने मकवानपुर र सिन्धुली जिल्लाको सीमाक्षेत्र हुँदै बग्ने बागमती नदीमा नुहाउन गएका थिए ।

सोही क्रममा दुवै जना नदीमा डुबेका हुन् । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन् ।





