खुर्कोट हिरासत मृत्यु प्रकरण: एसपीदेखि जवानसम्म १० प्रहरीमाथि कारबाही सिफारिस

२०८३ जेष्ठ १२, मंगलवार १९:१०

सर्लाही – नेपाल प्रहरीले सिन्धुलीको खुर्कोटस्थित हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरेको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका – ३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले घटनाको अनुसन्धानपछि १० जना प्रहरी कर्मचारीलाई विभिन्न प्रकारको विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।

समितिको प्रतिवेदनअनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने तथा एक जनालाई ग्रेड घटुवा गर्न सिफारिस गरिएको छ ।

छानबिन समितिले हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन सुनिश्चित गर्न सुझाव दिएको छ । ड्युटीमा खटिएका प्रहरी कर्मचारी अन्य काममा संलग्न नहुने तथा हिरासतको नियमित निगरानी अनिवार्य गर्न पनि समितिले जोड दिएको छ ।

त्यसैगरी, हिरासतभित्र हुने कुनै पनि असामान्य गतिविधिबारे तत्काल रिपोर्ट गर्ने प्रणाली प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव दिइएको छ । विशेषगरी अन्तर्जातीय सम्बन्ध, नाबालिग संलग्नता तथा सामाजिक तनाव उत्पन्न हुन सक्ने प्रकृतिका घटनामा आवश्यक तथ्य संकलन, सम्बन्धित पक्ष र परिवारसँग समन्वय तथा अनुसन्धानसम्बन्धी निर्णयमा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय संलग्नता आवश्यक रहेको समितिको निष्कर्ष छ ।

समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापनजस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण र सुपरीवेक्षणलाई थप प्रभावकारी बनाउन पनि सुझाव दिएको छ । साथै मुद्दा चलाउने निकायसँग आवश्यक समन्वय, पर्याप्त जनशक्ति व्यवस्थापन, सूचना प्रवाह तथा घटना व्यवस्थापनलाई सुदृढ गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रत्येक प्रहरी इकाइमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्यांकन तथा सुधारमुखी कार्ययोजना कार्यान्वयन गर्नुपर्ने सुझावसमेत समितिले दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार