सर्लाही – रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल स्थायी घर भई हाल चन्द्रपुर–४ मा बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले सुवेदीमाथि कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएका थिए । घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मोक्तानलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





