मलंगवा – सर्लाहीको कौडेना गाउँपालिका – १ लक्ष्मीपुरमा सर्पदंशबाट एक ३ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रविन्द्र गिरीका छोरा आदित्य गिरी रहेका छन्।
बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला उनलाई सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएका थिए। तर उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।

बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा केहीबेर होहल्ला गरेका थिए। अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २५ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरीको सम्झाइ बुझाइपछि अवस्था सामान्य बनेको र कानुनी प्रक्रिया पूरा गरी राति शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





