सर्लाही – सामाजिक सञ्जालमार्फत विभिन्न नामका समूह गठन गरी समाजमा त्रास फैलाउने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न २५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ लगायतका नाममा समूह बनाएर टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा धम्कीपूर्ण, उच्छृङ्खल तथा गालीगलौजयुक्त सामग्री सार्वजनिक गर्ने कार्य भइरहेको थियो।

यस्ता गतिविधिले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गरेको भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ।
उक्त समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको बेवास्ता गर्दै बिना हेल्मेट, आवश्यक कागजपत्रविना तथा नम्बर प्लेट नराखिएका मोटरसाइकल प्रयोग गरी राजमार्ग क्षेत्रमा समूहमा हिँडडुल गर्ने, होहल्ला गर्ने र सर्वसाधारणलाई त्रसित बनाउने गरेको प्रहरीको भनाइ छ।
सिरहा–चोहर्वा सडक खण्डमा नियमित सवारी जाँचका क्रममा उनीहरू शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका युवाहरू विभिन्न समूहमा आबद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन्। उनीहरूको साथबाट २१ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखी सार्वजनिक शान्तिविरुद्धका गतिविधि तथा अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।





