मलंगवा – सर्लाही प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाको ईश्वरपुर नगरपालिका – ८ रामपुरस्थित जब्दी पुल नजिकबाट ५७ किलोग्राम गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरीको टोलीले गत शनिबार उक्त क्षेत्रमा सवारी जाँच गरिरहेको बेला लालबन्दीतर्फबाट बयलबासतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६२ प ७०७३ नम्बरको मोटरसाइकललाई शंकास्पद अवस्थामा रोकेको थियो।

प्रहरीले मोटरसाइकल जाँच गर्न खोज्दा चालकसहित दुई जना सवार व्यक्ति भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा मोटरसाइकल चालक जिल्लाको लालबन्दी नगरपालिका – ११ हिरापुर टोल निवासी २७ वर्षीय थम्बङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
मोटरसाइकलको पछाडि सवार अर्का व्यक्ति भने फरार भएका छन्। प्रहरीले मोटरसाइकलमा राखिएको दुई वटा सेतो प्लास्टिकको बोरा खोलेर जाँच गर्दा रातो प्लास्टिकमा प्याक गरी डोरीले बाँधिएका १० वटा गाँजाका पोका फेला पारेको थियो।
बरामद गाँजाको तौल प्लास्टिकसहित ५७ किलोग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएर पक्राउ परेका लामाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेको छ।
सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार फरार व्यक्तिको खोजीका यस सम्बन्धि थप अनुसन्धान अगाडि बढाइएको छ।





