काठमाडौं – मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा नियन्त्रण लगाउँदै नयाँ कानुनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नियमअनुसार अब १६ वर्षमुनिका बालबालिकाले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।
नयाँ व्यवस्थाले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने दायित्व दिएको छ। साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूमाथि नै रहनेछ।

सरकारले यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत लाखौं प्रयोगकर्ता रहेका प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममा लागू हुने जनाएको छ। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने प्रावधान राखिएको छ।
मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यममार्फत बालबालिकामाथि हुने जोखिम बढ्दै गएको निष्कर्षपछि कडा नियमन आवश्यक ठानिएको सरकारको भनाइ छ।
यद्यपि, बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै सामाजिक सञ्जालमा खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारबाही नहुने स्पष्ट पारिएको छ। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ।
मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित, स्वस्थ र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको जनाएको छ।
बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडाइ गर्ने विश्वका केही देशहरूमध्ये मलेसिया पनि एक बनेको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरू पनि समान प्रकृतिका नीति निर्माणको प्रक्रियामा रहेका छन्।





