श्री साथी नेपाल संस्थाद्वारा विद्यालयलाई कार्पेट तथा शैक्षिक सामग्री सहयोग

२०८३ जेष्ठ १८, सोमबार १९:०८

बारा – बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको विशेष पहलमा निजगढस्थित श्री साथी नेपाल संस्थाले आदर्श कोतवाल गाउँपालिका – ८ जमुनियामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई कार्पेट तथा शैक्षिक सामग्री सहयोग गरेको छ।

विद्यालयमा अध्ययनरत ८५ जना बालविकास तहका विद्यार्थीलाई सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कक्षाकोठामा ओछ्याउने कार्पेट हस्तान्तरण गरिएको हो।

विद्यालयमा पर्याप्त बसाइ व्यवस्थाको अभावका कारण बालबालिका भुइँमै बसेर अध्ययन गर्न बाध्य रहेको अवस्थालाई ध्यानमा राख्दै संस्थाले करिब ६०० स्क्वायर फिट क्षेत्रफल बराबरको कार्पेट उपलब्ध गराएको जनाएको छ।

सोमबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य गणेश धिमालले बालबालिकाको शैक्षिक वातावरण सुधारका लागि गरिएको सहयोग प्रशंसनीय रहेको बताए। उनले भविष्यका कर्णधारका रूपमा रहेका विद्यार्थीहरूको हितका लागि सामाजिक संघसंस्थाहरूले यस्ता सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै श्री साथी नेपाल निजगढकी अध्यक्ष सरिता सापकोटाले विद्यालयलाई सहयोग गर्ने पूर्वप्रतिबद्धता पूरा गर्न पाएकोमा खुशी व्यक्त गरिन्। उनले समाजप्रति उत्तरदायी बन्दै मानवीय सेवामा सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने धारणा राखिन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूर आलम बादशाहले संस्थाले गरेको सहयोगले बालविकास तहका विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने बताए। उनले विद्यालयको आवश्यकता पहिचान गरी सहयोग गरेकोमा संस्थाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फगुनी मुखिया, प्रधानाध्यापक सुरेश पण्डित, समाजसेवी रूपेन्द्र कुशवाहा, गजेन्द्र कुशवाहालगायत स्थानीय अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

सहयोगपछि बालविकास कक्षाका विद्यार्थीहरूले थप सहज, सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार