सडक विस्तारका लागि सिसौट बजारमा चल्यो डोजर

२०८३ जेष्ठ १८, सोमबार १९:३०

मलंगवा – रामनगर गाउँपालिका – ६ स्थित सिसौटबजारमा सडक विस्तार तथा नाला निर्माणका लागि डोजर चलाईएको छ। बजार क्षेत्रको मुख्य सडकलाई ३५ फिट चौडा बनाउने योजनाअन्तर्गत सडक क्षेत्रभित्र रहेका अवरोध हटाउने काम सुरु गरिएको हो।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवको उपस्थितिमा आइतबार सडक सरसफाइ तथा अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। निर्माण कार्यका लागि आवश्यक सडक क्षेत्र खाली गराउन डोजर प्रयोग गरी सडक क्षेत्राधिकारभित्रका संरचना हटाउने काम गरिएको छ।

मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र रामनगर गाउँपालिकाको लागत साझेदारीमा आर्थिक वर्ष २०८२/०८३ मा सिसौटबजारको मुख्य सडक ढलान तथा नाला निर्माण गर्ने योजना रहेको छ।

सोही योजनालाई कार्यान्वयनमा लैजान गाउँपालिकाले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य सामग्री हटाएर आवश्यक जग्गा खाली गरिदिन स्थानीयवासीलाई आग्रह गरेको थियो।

बजार क्षेत्रको सौन्दर्य वृद्धि र व्यवस्थित शहरीकरणमा समेत यस योजनाले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माणका कामलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक हितका योजनामा सहयोग गर्न स्थानीयसँग अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार