सर्लाही – रौतहटको बौधीमाई नगरपालिका–५ कोपवास्थित एक बरफ फ्याक्ट्रीमा विद्युत् तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोपवा निवासी धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवाल रहेका छन्। बुधबार दिउँसो आफ्नै बरफ फ्याक्ट्रीमा विद्युत् तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो।

तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए। प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





