कैदीलाई होटलमा लगेर मासु र बियर खुवाउने दुई प्रहरी बर्खास्त

२०८३ जेष्ठ २१, बिहीबार १७:३६

सर्लाही – काठमाडौंको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा रहेका एक कैदीलाई नियमविपरीत बाहिर निकालेर होटलमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग भेट गराएको घटनामा संलग्न दुई प्रहरी कर्मचारी बर्खास्त भएका छन्।

घटना जेठ १ गतेको भएको खुलेको छ। कारागारमा रहेका अनुप भण्डारी नामका कैदीलाई अस्पताल लैजाने बहानामा हतकडीसमेत नलगाई कारागारबाट बाहिर निकालिएको अनुसन्धानबाट पत्ता लागेको हो। उनलाई प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले कारागारबाट होटलसम्म लगेको भेटिएको छ।

घटनाबारे छानबिनपछि दुवै प्रहरी कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनीहरूले कैदीलाई होटलमा लगेर मासु र बियर खुवाउनुका साथै एक युवतीसँग भेटघाटको समेत व्यवस्था मिलाएका थिए।

कारागारको सुरक्षा मापदण्ड र प्रहरी आचरणविपरीत गम्भीर लापरबाही तथा अनुशासनहीन गतिविधि गरेको निष्कर्षसहित उनीहरूमाथि कारबाही गरिएको बताइएको छ। सुरक्षा निकायभित्रैबाट कैदीलाई विशेष सुविधा उपलब्ध गराइएको यो घटनाले कारागार व्यवस्थापन र प्रहरी निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

घटनाको थप पक्षबारे समेत सम्बन्धित निकायले अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार