सर्लाही – नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका मधेश प्रदेशका तीन जना प्रदेशसभा सदस्यलाई सचेत गराएको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सर्लाही प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (१) की सांसद सकुन्ती देवी महरा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का सांसद कौशल किशोर राय तथा जंगीलाल रायलाई सचेत गराउने निर्णय गरेको हो।

अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले उनीहरूमाथि परेको उजुरी, त्यससम्बन्धी कागजात तथा प्राप्त स्पष्टीकरणको अध्ययनपछि उक्त निर्णय गरेको जनाएको छ।
तीनै सांसदविरुद्ध गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा कांग्रेसका आधिकारिक उम्मेदवारलाई आवश्यक सहयोग नगरेको तथा पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उजुरी परेको थियो। उजुरीपछि कांग्रेसले वैशाख २१ गते उनीहरूसँग लिखित स्पष्टीकरण मागेको थियो।
सांसदहरूले अनुशासन समितिमा आफ्नो जवाफ पेश गरेपछि समितिले त्यसको समीक्षा गर्दै उनीहरूलाई पार्टीको नीति, निर्देशन र संगठनात्मक अनुशासनको पालना गर्न सचेत गराउने निर्णय गरेको हो।





