सर्लाही – भारतले नेपालतर्फ हुने पेट्रोलियम पदार्थको आपूर्तिलाई कुनै पनि परिस्थितिमा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाएको छ। पश्चिम एसिया र मध्यपूर्व क्षेत्रमा जारी तनाव तथा संकटका बीच पनि नेपालमा इन्धनको निर्बाध आपूर्ति कायम राखिएको भारतले जनाएको हो।
नयाँ दिल्लीमा शनिबार आयोजित एक कार्यक्रममा भारतीय विदेशमन्त्रीले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै आवश्यकताको समयमा दुवै देशले एकअर्कालाई सहयोग गर्दै आएको बताए।

उनले क्षेत्रीय अस्थिरताका बाबजुद नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन नदिएको उल्लेख गर्दै आगामी दिनमा पनि आपूर्ति प्रणालीलाई निरन्तरता दिइने स्पष्ट पारे।
“हाम्रा दुई देश कठिन परिस्थितिमा पनि एकअर्काको साथमा उभिएका छन्। पश्चिम एसिया तथा मध्यपूर्वमा देखिएको संकटका बीच पनि नेपालका लागि इन्धन आपूर्ति निर्बाध रूपमा सुनिश्चित गरिएको छ,” उनले भने।
विदेशमन्त्री जयशंकरले इन्धन मात्र नभई नेपाललाई आवश्यक पर्ने रासायनिक मल उपलब्ध गराउने विषयमा पनि भारत प्रतिबद्ध रहेको बताए। उनका अनुसार कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले मल आपूर्तिलाई समेत प्राथमिकतामा राखिएको छ।





