सर्लाहीमा बयलगाडाले किचेर ९ बर्षिय बालकको मृत्यु

२०८३ जेष्ठ २४, आईतवार १४:००
सांकेतिक तस्बिर

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका – १६ बैरहरियामा बैलगाडाबाट खसेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार दिउँसो करिव ३:५० बजे स्थानीय खैरु पण्डित कुम्हालले घरदेखि खेततर्फ चलाइरहेको बैलगाडामा सवार सोही स्थानका कृष्ण कुम्हालका ९ वर्षीय छोरा सुभाष कुम्हाल अचानक गाडाबाट खसेका थिए।

खसेलगत्तै बैलगाडाले किच्दा उनको छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि घाइते बालकलाई तत्काल नगर अस्पताल बरहथवामा पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पतालमा रिफर गरिएको थियो। उपचारकै क्रममा शनिबार राति करिब १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्।

घटनाको सूचना प्राप्त भएपछी इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बैलगाडा घरमै राखिएको भेटिएको भए पनि बैलगाडा चलाइरहेका खैरु पण्डित कुम्हाल घटनापछि फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार