सर्लाही – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे ।
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए । उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ ।

मन्त्री वाग्लेले आफ्ना छोराछोरीको शिक्षामा गरेको खर्चमध्ये २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम करयोग्य आयबाट कटौती गर्न सकिने नयाँ व्यवस्था पनि बजेटमार्फत ल्याइएको जानकारी दिए । उनले नागरिकलाई औपचारिक कर प्रणालीमा आबद्ध हुन र नियमित रूपमा आयकर विवरण (इनकम ट्याक्स फाइल) पेश गर्न आग्रह गरे ।
विद्युतीय सवारीसाधन (ईभी) मा अब ‘पिक पावर’को सट्टा मूल्यका आधारमा भन्सार निर्धारण गरिने उनले बताए । विगतमा पिक पावरका आधारमा भन्सार निर्धारण गर्दा दुरुपयोग भएको र महालेखा परीक्षकले अर्बौं रुपैयाँ बेरुजु औँल्याएको उल्लेख गर्दै वैज्ञानिक अभ्यास र अनुसन्धानका आधारमा नयाँ व्यवस्था लागू गरिएको उनले बताए। ईभीको मूल्यमा ५० लाख रुपैयाँभन्दा बढी वृद्धि नहुने गरी नीति सच्याइएको पनि उनले जानकारी दिए ।
यस्तै, महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा सञ्चालन हुने चलचित्र घरलाई व्यवसाय सञ्चालन गरेको मितिदेखि १० वर्षसम्म कर छुट दिने व्यवस्था गरिएको मन्त्री वाग्लेले बताए । स्वास्थ्य क्षेत्रतर्फ रगत तथा खोप ढुवानीका लागि प्रयोग हुने क्यारियरमा लाग्दै आएको ३० प्रतिशत भ्याट घटाएर १५ प्रतिशत कायम गरिएको पनि उनले जानकारी दिए । – नेपाल न्यूज बैंक





