सर्लाही – मकवानपुरको भिमफेदी गाउँपालिका – ८ बैदमारस्थित भित्री सडक खण्डमा द्रुतमार्ग आयोजनासँग सम्बन्धित पिकअप गाडी दुर्घटना हुँदा बाराका एक युवकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेर दुर्घटनामा परेको हो। दुर्घटनापछि गाडीमा सवार चालक र एक यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका – ९ भिमान निवासी अन्दाजी ४२ वर्षीय चालक बोधराज बुढाथोकी र बारा जिल्लाको पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादव रहेका छन्। यादव द्रुतमार्ग आयोजनामा इन्जिनियरका रूपमा कार्यरत रहेको जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। तर, दुवै जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।





