भेटेरिनरी अस्पतालको भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर

२०८३ जेष्ठ २८, बिहीबार १३:५१

सर्लाही – सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन निर्माणमा ठूलो भ्रष्टाचार भएको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेन्डर प्रक्रियामा अनियमितता गरी राज्यलाई करोडौं रुपैयाँ नोक्सानी पुर्‍याइएको निष्कर्षसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित भवन निर्माणको बोलपत्र मूल्याङ्कन प्रक्रियामा मिलेमतो गरी सस्तो प्रस्तावलाई बेवास्ता गरिएको आयोगको दाबी छ । अनुसन्धान अनुसार कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई प्राविधिक रूपमा अयोग्य ठहर गरी बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइएको पाइएको छ ।

आयोगका अनुसार ‘श्री राम निर्माण सेवा’ ले २ करोड ८९ लाख ६४ हजार रुपैयाँमा काम गर्ने प्रस्ताव गरेको थियो भने ‘राधा कृष्ण निर्माण सेवा’ ले ४ करोड १६ लाख ६० हजार रुपैयाँ कबोल गरेको थियो । तर, कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई बाहिर राखी महँगो प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा राज्यलाई १ करोड २६ लाख ९६ हजार रुपैयाँभन्दा बढी अतिरिक्त व्ययभार परेको देखिएको छ ।

उक्त प्रकरणमा तत्कालीन कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोक कुमार सिंह र असिस्टेन्ट सब–इन्जिनियर प्रेम कुमार सिंहको प्रत्यक्ष संलग्नता रहेको आयोगको ठहर छ ।

साथै, निर्माण व्यवसायी राधा कृष्ण निर्माण सेवाकी प्रबन्धक कौशल्या कुमारी रजकलाई पनि प्रतिवादी बनाइएको छ । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो रकम असुलसहित कैद र जरिवानाको मागदाबी गरेको छ । साथै, गलत मूल्याङ्कन प्रतिवेदन तयार पारेको विषयमा थप सजायको मागसमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार