जग्गा रोक्का गरिदिने भन्दै ४० हजार घुस लिने नासु पक्राउ

२०८३ जेष्ठ ३०, शनिबार १९:५७

सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा (नासु) ज्ञानराज कण्डेललाई घुस रकमसहित पक्राउ गरेको छ।

जग्गा रोक्का गर्ने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको भन्ने उजुरीपछि अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले कण्डेललाई नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कण्डेलले सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको थियो। पक्राउका क्रममा उनको साथबाट घुसबापतको ४० हजार रुपैयाँसहित स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले शनिबार कण्डेललाई नियन्त्रणमा लिइएको जानकारी दिँदै घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको बताए। अख्तियारले बरामद रकमको स्रोत तथा घुस लेनदेनसँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार