मधेश प्रदेशमा कुपोषणको भयावह अवस्था

२०८३ जेष्ठ ३०, शनिबार २०:५७
सांकेतिक तस्बिर

सर्लाही – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’को तथ्याङ्कले मधेश प्रदेशमा बाल कुपोषणको भयावह अवस्था देखाएको छ। देशभरका सात प्रदेशमध्ये कुपोषणका सबैभन्दा धेरै केस मधेशमै भेटिएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार मधेश प्रदेश कडा शीघ्र कुपोषण र शीघ्र कुपोषण दुवैमा देशकै शीर्ष स्थानमा रहेको छ।

अभियानअन्तर्गत देशभर १० लाख ३५ हजार २०१ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। तीमध्ये १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण र ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषण देखिएको छ।

प्रदेशगत विवरणअनुसार मधेश प्रदेशमा मात्रै ८ हजार ३८० बालबालिकामा कडा शीघ्र कुपोषण र ३८ हजार ९४८ बालबालिकामा शीघ्र कुपोषण भेटिएको छ, जुन अन्य सबै प्रदेशभन्दा धेरै हो।

त्यसपछि लुम्बिनी प्रदेशमा ३ हजार १५, सुदूरपश्चिममा १ हजार ७५८, कोशीमा १ हजार ५९०, कर्णालीमा १ हजार ५०३, बागमतीमा १ हजार ४०१ र गण्डकीमा ६६२ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको छ।

पोषण शाखाका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिका अत्यधिक दुब्ला, कमजोर तथा करङ स्पष्ट देखिने अवस्थाका हुन्छन्। यस्ता बालबालिकालाई उपचारात्मक खाना उपलब्ध गराइन्छ र धेरैजसो अवस्थामा उपचारपछि सुधार हुने गरेको छ।

सुधार नदेखिएका बालबालिकाका लागि देशभर सञ्चालनमा रहेका २५ वटा पोषण पुनःस्थापना केन्द्रमार्फत आमा र बालबालिकालाई निगरानीमा राखेर उपचार तथा पोषण व्यवस्थापन गरिने व्यवस्था रहेको छ।

स्वास्थ्य सेवा विभागले आगामी दिनमा प्राप्त तथ्याङ्कका आधारमा लक्षित पोषण कार्यक्रम विस्तार गर्ने जनाएको छ। साथै, सरकारले आगामी आर्थिक वर्षदेखि ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’लाई नियमित कार्यक्रमका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार