ललितपुरमा हवाईफायरपछि बाराका एकसहित तीन लागुऔषध कारोबारी पक्राउ

२०८३ जेष्ठ ३०, शनिबार २२:३०
साङ्केतिक तस्बिर

सर्लाही – लागुऔषध नियन्त्रण ब्युरोले ललितपुरमा हवाईफायर गर्दै ठूलो परिमाणको लागुऔषधसहित तीन जना ‘कारोबारी’लाई पक्राउ गरेको छ। शनिबार भएको उक्त कारबाहीका क्रममा एक नेपाली र दुई भारतीय नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका – ३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारत बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमत सद्दाम रहेका छन्। प्रहरीका अनुसार सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०१-००१ बा ९२०१ नम्बरको कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए।

ललितपुर महानगरपालिका–२३, गैरीगाउँबाट नक्खुतर्फ आइरहेको अवस्थामा प्रहरीले रोकिन संकेत गर्दा उनीहरूले अटेर गर्दै भाग्ने प्रयास गरेका थिए। त्यसपछि, नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाईफायर गरेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। हवाईफायरपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

खानतलासीका क्रममा कारको पछाडिको डिक्कीमा लुकाइ राखिएको अवस्थामा ट्रामाडोल ३० हजार क्याप्सुल बरामद गरिएको ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। हाल पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार