मौसम र स्रोत अभावले घट्यो मधेसको गहुँ उत्पादन, अघिल्लो वर्षको तुलनामा उल्लेख्य कमी

२०८३ असार ८, सोमबार २२:०३

सर्लाही – मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य गिरावट आएको छ। उर्वर भूमि र गहुँ खेतीका लागि परिचित मानिने प्रदेशमा प्रतिकूल मौसम, रोग कीराको प्रकोप, पर्याप्त सिँचाइको अभाव तथा गुणस्तरीय बीउबिजन नपाउँदा उत्पादन घटेको कृषि अधिकारीहरूले बताएका छन्।

मधेस प्रदेश कृषि निर्देशनालय, नक्टाझिज धनुषाको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा प्रदेशभर तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको थियो। उक्त क्षेत्रफलबाट प्रतिहेक्टर औसत १.८ मेट्रिक टनका दरले कुल पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ।

गत वर्ष भने एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस आधारमा हेर्दा यस वर्ष उत्पादनमा उल्लेख्य गिरावट देखिएको छ।

जिल्लागत रूपमा हेर्दा धनुषा गहुँ उत्पादनमा अग्रस्थानमा रहेको छ। धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए।

त्यसैगरी, सप्तरीमा ८२ हजार ३२० मेट्रिक टन, महोत्तरीमा ७२ हजार ८०० मेट्रिक टन, बारामा ७१ हजार ९२० मेट्रिक टन तथा सर्लाहीमा ६९ हजार ५९६ मेट्रिक टन गहुँ उत्पादन भएको छ। पर्सामा ५९ हजार ८५२ मेट्रिक टन र रौतहटमा ५२ हजार ७४१ मेट्रिक टन गहुँ उत्पादन भएको तथ्यांकमा उल्लेख छ।

यता, सिरहा भने गहुँ उत्पादनमा सबैभन्दा पछाडि परेको छ। जिल्लामा १४ हजार १७६ हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती गरिए पनि कुल ३५ हजार ४४१ मेट्रिक टन मात्र उत्पादन भएको छ।

मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार समयमा सिँचाइको सुविधा उपलब्ध नहुनु, उन्नत जातका बीउको अभाव र मौसमको प्रतिकूलताले किसानले अपेक्षित उत्पादन लिन सकेनन्। उत्पादन घटेसँगै किसानको आम्दानीमा समेत असर पर्ने चिन्ता बढेको उनले बताए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार