सर्लाही – भक्तपुरको नगरकोट क्षेत्रमा चक्कु प्रहारबाट महोत्तरीका एक युवकको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार ८ असार राति करिब १० बजे भक्तपुर नगरपालिका–१ स्थित नगरकोट क्षेत्रमा सामान्य विवादका क्रममा भएको झडपमा महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको थियो।

गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीको तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





