गोडैतामा १५ शैयाको नगर अस्पताल उद्घाटन

२०८३ असार १०, बुधबार १३:५३

गोडैता – सर्लाहीको गोडैता नगरपालिका – ३ सिमरा भगवतिपुरमा निर्माण सम्पन्न भएको १५ शैयाको गोडैता नगर अस्पताल उद्घाटन गरिएको छ। करिब २० करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त अस्पतालको बुधबार एक कार्यक्रमबीच गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादवले उद्घाटन गरेका हुन्।

नगर प्रमुख यादवले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले नगरपालिकाले स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै अस्पताल निर्माण सम्पन्न गरेको बताए। उनले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण तथा स्वास्थ्य सेवाको व्यवस्थापनमा पनि नगरपालिकाले ध्यान दिने उल्लेख गरे।

हालसम्म सामान्य स्वास्थ्य सेवासमेत प्राप्त गर्न सदरमुकाम मलंगवा वा अन्य स्थान धाउन बाध्य रहेका स्थानीय बासिन्दाका लागि अस्पताल सञ्चालन महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अस्पतालको उद्घाटनसंगै स्थानीयस्तरमै उपचार सेवा उपलब्ध हुने, बिरामीको समय र खर्च दुवै बचत हुने तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

करिब २० करोड ७६ लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको १५ शैयाको उक्त अस्पतालले गोडैता नगरपालिका मात्र नभई आसपासका क्षेत्रका नागरिकलाई समेत सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार