सर्लाही – बारा जिल्लासँग जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अफिम तस्करी गर्ने प्रयास असफल पार्दै सुरक्षाकर्मीले दुई नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेका छन्। उनीहरूको साथबाट करिब २ किलो अफिम र एउटा मोटरसाइकल बरामद गरिएको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियनलाई प्राप्त गोप्य सूचनाको आधारमा शनिबार अपराह्न कोरैया क्याम्प, ७१ बटालियन मोतिहारी र महुआवा प्रहरीको संयुक्त टोलीले भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लामा रहेको सीमा स्तम्भ नम्बर ३८१ नजिक विशेष अपरेसन सञ्चालन गरेको थियो। उक्त स्थान नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र पर्ने जनाइएको छ।

अपरेसनका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको २ किलो (प्याकिङसहित) अफिमजस्तो देखिने पदार्थ र एउटा हिरो होन्डा मोटरसाइकल सहित दुई नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको एसएसबीले जनाएको छ।
पक्राउ पर्नेमा बारा जिल्लाको लंगडा चोक निवासी ४० वर्षीय दिनेश राम र ४१ वर्षीय सोना लाल पासवान रहेका छन्। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट विश्वजित तिवारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा यस तस्करीमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्लाको जितना थाना क्षेत्रस्थित भवानीपुर गाउँका ४० वर्षीय लालबाबु सिंहको पनि संलग्नता देखिएपछि उनलाई समेत पक्राउ गरिएको हो।
बरामद गरिएको अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई थप कानुनी प्रक्रिया अघि बढाउन महुआवा प्रहरीको जिम्मा लगाइएको एसएसबीका प्रवक्ता विनीत कुमार सिंहले जानकारी दिएका छन्।
घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त हुने थप विवरण क्रमशः सार्वजनिक गरिने एसएसबीले जनाएको छ।





