सर्लाहीसहित १८ जिल्लाका ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन

२०८३ असार २१, आईतवार २१:२५

सर्लाही – किसानलाई गुणस्तरीय बीउ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कृषि विभागले सर्लाहीसहित देशका १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममार्फत उन्नत बीउ उत्पादन तथा वितरणलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको विभागले जनाएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीलाई मध्यनजर गर्दै धानका उत्थानशील तथा उच्च उत्पादन दिने जातको विकासमा विशेष जोड दिइएको बताए। उनका अनुसार छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने–सुकाउने प्रणाली र वर्षाको पानी संकलनजस्ता आधुनिक प्रविधिको विस्तार गरी धान खेतीलाई थप उत्पादनमुखी र दिगो बनाइनेछ।

कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशंकर धानको प्रवर्द्धन गरिनेछ। साथै २१ कृषि जोन र पाँच सुपरजोनमार्फत बर्खे तथा चैते धान खेतीमा यान्त्रिकीकरण, उत्पादन वृद्धि तथा मूल्य शृंखला विकासका कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। चैते धान खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराएर उत्पादन विस्तारमा पनि प्रोत्साहन गरिनेछ।

यसै आर्थिक वर्षदेखि सर्लाही, महोत्तरी, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का आठ स्थानीय तहमा धानमा आधारित विशेष परियोजना समेत सुरु गरिएको छ। यस परियोजनाले गुणस्तरीय बीउ उत्पादन बढाउनुका साथै आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार, उत्पादन लागत घटाउने र किसानको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कृषि विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार