आफ्नै उम्मेदवारलाई हराएको भन्दै कांग्रेसले सोध्यो चन्द्रनगरका अध्यक्ष राजकुमारलाई स्पष्टीकरण

२०८३ असार २२, सोमबार १६:४२

मलंगवा – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका नेता राजकुमार महतोलाई कार्वाहीको लागि पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

केन्द्रीय अनुशासन समिति सचिव दिनेश थापामगरद्वारा जारी पत्रअनुसार, २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका क्रममा महतो पार्टीको चुनावी सभा, सम्मेलन तथा बैठकलगायतका गतिविधिमा सहभागी नभएको तथा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्ने खालका गतिविधिमा संलग्न रहेको भन्दै उजुरी परेको उल्लेख गरिएको छ।

उक्त उजुरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार शम्भुलाल श्रेष्ठले दिएका हुन्।

पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (१) (क), (ख), (ग) र (घ) बमोजिम अनुशासन उल्लंघन गरेको आरोप उल्लेख गर्दै किन कारबाही नगर्ने भन्ने विषयमा पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार