सर्लाही – बारामा रुखको हाँगा काट्ने क्रममा च्यापिएर एक श्रमिकको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ८ः३० बजे जिल्लाको सुवर्ण गाउँपालिका – २, सनफुलवास्थित शिवधारी पण्डितको जग्गामा रहेको ठूलो पकडको रुखको हाँगा काट्ने क्रममा ५५ वर्षीय जोखन महराको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त रुख सुवर्ण गाउँपालिका – ३ निवासी बाबुलाल यादवले खरिद गरेका थिए। रुखको हाँगा काट्ने तथा व्यवस्थापन गर्ने काममा खटिएका महराले एउटा हाँगा काटिरहेका बेला अचानक अर्को ठूलो हाँगा भाँचिएर उनीमाथि खसेको थियो।
हाँगाले च्यापिँदा उनी गम्भीर घाइते भएका थिए र घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। घटनाको जानकारी बिहान करिब ९ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको थियो।
हाल उनको शव पोस्टमार्टमका लागि सोहि अस्पतालमा रहेको बताईएक छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।





