मलंगवा – सर्लाहीको लालबन्दी नगरपालिका – १ नवलपुर गोरूबजारबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीको टोलीले लालबन्दी नगरपालिका – २ निवासी ३५ वर्षीय संजिव कुमार केसीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बा.५२ प ३३०५ नम्बरको मोटरसाइकलमा सवार रहेका केसीको खानतलासी गर्दा लागुऔषध नाईट्राजेपाम २० ट्याब्लेट फेला परेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उनले आफ्नै घर पछाडिको खेतमा समेत लागुऔषध लुकाइछिपाइ राखेको खुलेको जनाएको छ।

त्यसपछि, प्रहरीले उक्त स्थानमा खोजतलास गर्दा नाईट्राजेपाम २ सय १८ ट्याब्लेट र स्पास्मो १ सय ४४ ट्याब्लेट बरामद गरेको हो। बरामद गरिएको लागुऔषधसहित केसीलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





