सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा कार्यरत कार्यालय प्रमुखसहित चार जनाविरुद्ध ७२ लाख ५९ हजार ९० रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा माछाका भुरा वितरण कार्यक्रमका लागि छुट्याइएको बजेट अनियमित रूपमा खर्च गरिएको अभियोगमा तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण तथा सुदिश माछापालन केन्द्रका सञ्चालक राम सुदिश शरणलाई प्रतिवादी बनाइएको हो।

अनुसन्धानका क्रममा माछाका भुरा खरिद नै नगरी नक्कली बिल तयार गरिएको, भुरा नपाएका कृषकहरूको नाम, ठेगाना र भर्पाईसमेत झुट्टा बनाइ सरकारी रकम दुरुपयोग गरिएको तथ्य फेला परेको अख्तियारले जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिअनुसार आयोगले चारै जनाबाट बिगो असुल गर्नाका साथै प्रचलित कानूनबमोजिम कैद र जरिवानाको सजायसमेत माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।





