फेवातालमा डुबेर भारत बिहारका एक जनाको मृत्यु

२०८३ असार २६, शुक्रबार २०:५४

सर्लाही – पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक भारतीय पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार दिउँसो भारतको बिहार राज्यबाट साथीहरूसँग पोखरा भ्रमणमा आएका २८ वर्षीय रोहित कुमार फेवातालमा डुबेका हुन्।

प्रहरीका अनुसार रोहित चार जना साथीसहित तालबाराही मन्दिर पुगेका थिए। मन्दिरमा डुंगा रोकेपछि उनी र उनका एक साथी तालमा पौडी खेल्न थालेका थिए। सोही क्रममा रोहित अचानक गहिरो पानीमा डुबेका थिए।

घटनाबारे सूचना प्राप्त हुनासाथ फेवा वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन टोलीले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो।

करिब साँझ ४:५० बजे डुबेका रोहितलाई उद्धार टोलीले ५:१० बजे तालको करिब १० फिट गहिराइबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार