सर्लाही – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोली र पर्सि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भोली कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी जिल्लाका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्राधिकरणका अनुसार लगातारको वर्षासँगै पहाडी क्षेत्रमा आकस्मिक बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्नेछ। साथै सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना पनि रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
खोला, नदी तथा खहरे आसपास बसोबास गर्ने, पहिरोको जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दा र ती स्थानबाट यात्रा गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।
सम्भावित विपद्को व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त सडक तथा राजमार्गमा आवश्यक पर्ने डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण पनि तयारी अवस्थामा राख्न भनिएको छ।
विपद् व्यवस्थापनमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वयमा रहन आग्रह गर्दै प्राधिकरणले आपत्कालीन अवस्थाका लागि वर्षा तथा बाढीसम्बन्धी जानकारी लिन ११५५, विपद् सहायता सेवा १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।





