सर्लाही – धनुषाको मिथिला नगरपालिका – ९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपप्रमुख सवार सरकारी स्कार्पियो एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ गइरहेको ना २ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी स्कार्पियो आपसमा ठोक्किएर दुर्घटना भएको हो।

प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा एम्बुलेन्समा रहेका पाँच जना र स्कार्पियोमा सवार तीन जना गरी आठ जना घाइते भएका छन्। स्कार्पियोमा धनुषाधाम नगरपालिकाकी उपप्रमुख विन्दा भुजेल, धनुषाधाम – ८ निवासी ७० वर्षीय भीमराज भुजेल तथा चालक बद्री भुजेल घाइते भएका छन्।
यस्तै, एम्बुलेन्समा सवार महोत्तरीको गौशाला नगरपालिका–५ निवासी ४५ वर्षीय वसन्तकुमार सिंह, उनकी श्रीमती ४० वर्षीया रेणुकुमारी महतो, मिथिला नगरपालिका–९ निवासी ६५ वर्षीय लक्ष्मी महतो तथा चालक दीपेन्द्रकुमार महतो घाइते भएका छन्।
उपचारका लागि लगिँदै गरिएकी मिथिला नगरपालिका–९ की करिब ६० वर्षीया राजुदेवीको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) बाट पीडित रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार एम्बुलेन्समा रहेका पाँच जनाको उपचार जनकपुरस्थित जानकी मेडिकल कलेज, रमदैयामा भइरहेको छ भने उपप्रमुखसहित स्कार्पियोमा रहेका तीन जनाको ढल्केबरस्थित भोगेन्द्र हेल्थकेयरमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा राखिएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।





