सर्लाही – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल तथा पारित प्रक्रियालाई अघि बढाउन मधेश प्रदेश सभाको बैठक आइतबार बोलाइएको छ। प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आइतबार दिउँसो १ बजे प्रदेश सभा बैठक सञ्चालन गर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष समाप्त हुन अब केही दिन मात्र बाँकी रहेकाले समयमै बजेट पारित हुन नसके प्रदेशको आर्थिक गतिविधि प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै बैठक बोलाइएको जनाइएको छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले सभामुख तथा कार्य व्यवस्था परामर्श समितिका संयोजक रामआशिष यादवले बजेट समयमै पारित गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै बैठक बोलाउने प्रस्ताव राखेको र त्यसमा सहमति जुटेको जानकारी दिए।
यस्तै, बजेटलाई लिएर देखिएको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप आइतबार बिहान ११ बजे सर्वदलीय बैठक पनि बोलाउने निर्णय भएको छ। उक्त बैठकमा सत्तापक्ष र विपक्षी दलबीच सहमतिको प्रयास गरिने जनाइएको छ।
बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रदेश सभा बैठक लगातार अवरुद्ध गर्दै आएका छन्। यही कारण असार १४ गतेयता प्रदेश सभाको नियमित बैठक सञ्चालन हुन सकेको छैन।
हाल मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा सरकार सञ्चालन भइरहेको छ। विपक्षी दलहरूले सरकारले ल्याएको बजेट उपभोक्ता समितिमार्फत खर्च केन्द्रित, अपारदर्शी तथा कमिसनमुखी भएको आरोप लगाउँदै आएका छन्।
प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज यादवले बजेट अवरुद्ध गर्नु आफूहरूको उद्देश्य नभएको स्पष्ट पारे। उनका अनुसार बजेटमा जनहितभन्दा पनि अर्बौं रुपैयाँका योजना राजनीतिक पहुँच र सेटिङका आधारमा समावेश गरिएको, मन्त्री तथा सत्तारुढ दलका सांसदहरूको निर्वाचन क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै विरोध गर्न बाध्य भएको बताए।





