सर्लाही – आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफललाई अघि बढाउन मधेस प्रदेश सभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ। चालु आर्थिक वर्ष समाप्त हुन अब पाँच दिन मात्र बाँकी रहेकाले बजेट समयमै पारित गर्न प्रदेश सभा सक्रिय भएको हो।
प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आइतबार प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको थियो। बैठकअघि बिहान ११ बजे सत्ता र प्रतिपक्षबीच देखिएको विवाद समाधानका लागि सर्वदलीय बैठक आयोजना गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुरेन्द्र महतोका अनुसार सर्वदलीय बैठकबाट सहमति जुटाउने प्रयास गरिनेछ। सहमति कायम भए लगत्तै बजेटमाथिको छलफल अघि बढाएर पारित गर्ने तयारी गरिएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले बजेट समयमै पारित हुन नसके प्रदेश सरकार आर्थिक जटिलतामा पर्न सक्ने भएकाले सभामुखसमक्ष बैठक आह्वानको प्रस्ताव गरिएको र त्यसमा दलहरूबीच सहमति बनेको जानकारी दिए।
बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले निरन्तर प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन्। यही कारण असार १४ गतेयता प्रदेश सभाको बैठक सञ्चालन हुन सकेको छैन।
हाल मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाको समर्थनमा गठबन्धन सरकार सञ्चालनमा छ। विपक्षी दलहरूले सरकारले उपभोक्ता समितिमार्फत बजेट वितरणलाई कमिसनमुखी बनाएको, योजनाहरू सत्ता पक्षका मन्त्री तथा सांसदको निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको र बजेट व्यवस्थापनमा पारदर्शिता नअपनाइएको आरोप लगाउँदै आएका छन्।
प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (नेपाल) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोज यादवले प्रदेश सभा अवरोध गर्नु आफ्नो उद्देश्य नभएको बताउँदै बजेटमा जनहितभन्दा पनि अर्बौं रुपैयाँका योजना ‘सेटिङ’का आधारमा समावेश गरिएको, कमिसनमुखी कार्यक्रम राखिएको तथा सत्ता पक्ष निकट क्षेत्रलाई प्राथमिकता दिइएकाले विरोध गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन्।
आज हुने सर्वदलीय बैठकबाट सहमति कायम भए प्रदेश सभाले बजेटमाथिको छलफल टुंग्याएर चालु आर्थिक वर्ष समाप्त हुनुअघि नै बजेट पारित गर्ने प्रयास गर्नेछ।





