मलंगवा – सर्लाही प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत हरिवन नगरपालिका – ३ मा सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ठुलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागूऔषधको बिक्री–वितरण भइरहेको ‘हटस्पट’ क्षेत्र रहेको सूचनाका आधारमा प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलको कमाण्डमा १७८ जना प्रहरी परिचालन गरी व्यापक सर्च तथा जनचेतनामूलक अभियान सञ्चालन गरिएको थियो।

सोहि क्रममा शंकास्पद घर तथा बगैँचामा खानतलासी गर्दा हरिवन नगरपालिका – ३ निवासी २२ वर्षीय कृष्ण प्रजा र २३ वर्षीय मनोज मुक्तान पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ओनेक्सएक्स नामक २६ बोतल, स्पाज्मोपका १५ पत्ता (१४४ ट्याब्लेट), नाइट्राजेपामका १३ पत्ता (१३२ ट्याब्लेट), २०० ग्राम गाँजा, कागजमा बेरेर राखिएको १४ प्याकेट (५८० ग्राम) गाँजा तथा ओनेक्सएक्सका ३०० वटा खाली बोतल बरामद गरेको जनाएको छ।
अभियानका क्रममा उक्त क्षेत्रमा भेला भएका करिब ६० जनालाई लागूऔषधको दुव्र्यसन, यसको सामाजिक असर तथा कानुनी व्यवस्थाबारे अन्तरक्रिया र छलफलसहित सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।





