गोडैता-१२ का वडाध्यक्षले सार्वजनिक गरे वार्षिक प्रगति विवरण, आफ्नै तलबसमेत जनताकै सेवामा खर्च गरेको दाबी

२०८३ असार ३०, मंगलवार ०८:१५

गोडैता – सर्लाहीको गोडैता नगरपालिकाको वडा नं. १२ मधुवनीका वडाध्यक्ष केशव कुमारले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका विकास निर्माण, सामाजिक सेवा तथा जनकल्याणका कार्यक्रमहरूको वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक गरिएको प्रगति विवरणमा उनले सरकारी तलब सुविधादेखि आफ्नै व्यक्तिगत लगानीसमेत जनताको सेवामा खर्च गरेको दाबी गरेका छन्। वडाध्यक्ष कुमारले सार्वजनिक गरेको प्रगति बिबरण अनुसार आफूले सरकारी कोषबाट प्राप्त गरेको २ लाख ८६ हजार रुपैयाँ तलब सुविधा आवश्यक समुदाय तथा नागरिकलाई वितरण गरेको उल्लेख गरेका छन्।

साथै, वडामा २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको र हालसम्म ९०६ जनालाई नेपाली नागरिकता प्राप्त गर्न सहजीकरण गरिएको दाबी गरिएको छ। प्रगति विवरणमा विवादरहित रुपमा ९ फिट चौडाइको मुख्य सडकलाई १५.५ फिटमा विस्तार गरी ढलान गरिएको उल्लेख छ।

यसैगरी, सर्लाही जिल्लाकै पहिलो बालविवाहमुक्त वडा घोषणा गर्न सफल भएको पनि प्रगति विवरणमा जनाइएको छ।

वडाध्यक्ष कुमारले आफ्नै व्यक्तिगत खर्चमा ५० जना गर्भवती महिलालाई १ लाख ५० हजार रुपैयाँ बराबरको पौष्टिक आहार वितरण गरेको, मधुवनी स्वास्थ्य चौकीका लागि १ लाख रुपैयाँ बराबरका स्वास्थ्य उपकरण खरिद गरेको तथा विगत नौ वर्षदेखि निरन्तर दलित, अतिविपन्न, विपन्न, गरिब, असहाय र एकल महिलालाई साडी वितरण गर्दै आएको उल्लेख गरेका छन्।

त्यसैगरी, स्थानीय सरकारको बजेटमार्फत करिब ९ करोड रुपैयाँ बराबरका सडक, मठ मन्दिर तथा अन्य पूर्वाधार विकासका योजना कार्यान्वयन गरिएको प्रतिवेदनमा उल्लेख छ। वडाका २१ जना गरिब, विपन्न तथा जोखिममा रहेका बालबालिकालाई ७५ हजार ६ सय रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको पनि जनाइएको छ।

वार्षिक प्रगति विवरणअनुसार वडामा महिला तथा दिव्याङ्ग व्यक्तिका लागि पाठेघरको स्क्रिनिङ परीक्षण तथा आवश्यक शल्यक्रियामा सहजीकरण, २० जना युवालाई सीपमूलक तालिमसँगै २ लाख रुपैयाँ बराबरका सामग्री वितरण, आफ्नै लगानीमा १ लाख २० हजार रुपैयाँ खर्च गरी निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन, शिव मन्दिरका पुजारीलाई लगातार तीन वर्षदेखि ४८ हजार रुपैयाँ आर्थिक सहयोग, तथा २५० जनालाई जाडोमा कम्बल वितरण गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी, २ हजार बिरुवा वितरण गरी वृक्षारोपण अभियान सञ्चालन, २० वर्ष उमेर पूरा गरी विवाह गर्ने जोडीलाई १० हजार रुपैयाँ प्रोत्साहन, ५४ जना कृषकलाई कृषि तालिम तथा कृषि सामग्री वितरण, निःशुल्क सक्रिय क्षयरोग खोज पड्ताल शिबिर सञ्चालन तथा १५० जनालाई हेण्ड पाइप वितरण गरी शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको दाबी गरिएको छ।

प्रगति बिबरणमा हनुमान मन्दिर, सरस्वती मन्दिर, मदरसा, ब्रह्मस्थान रोड, अर्नाहा जाने सडक तथा फुलजोर जाने सडकका विवादरहित ढलान गरिएको उल्लेख छ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संघीय सरकारबाट स्वास्थ्य चौकी र प्रदेश सरकारबाट प्रहरी चौकी निर्माणका लागि २ करोड २२ लाख रुपैयाँ बराबरको योजना समावेश गराउन पहल गरिएको पनि जनाइएको छ।

यसका साथै, आफ्नै व्यक्तिगत लगानीमा साविक प्रत्येक वडामा स्वास्थ्य आमा समूहका बैठकमा सेनेटरी प्याड वितरण गरिएको तथा ओमप्रकाश पासवानको प्लस टुसम्मको अध्ययन खर्च व्यक्तिगत रूपमा व्यहोर्ने प्रतिबद्धता कार्यान्वयन गरिएको उल्लेख गरिएको छ।

वडाध्यक्ष कुमारले सार्वजनिक गरेको प्रगति विवरणमा स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक सुरक्षा, महिला सशक्तीकरण, पूर्वाधार विकास तथा जनसेवालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको दाबी गरिएको छ।

साथै, आगामी दिनमा पनि वडाको समग्र विकास र नागरिकको जीवनस्तर सुधारका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार