निगमले भन्यो – भोलिदेखि फेरि १४.२ केजीको ग्यास सिलिन्डर बिक्री शुरु हुन्छ

२०८३ असार ३०, मंगलवार २०:५३

सर्लाही – नेपाल आयल निगमले भोलि बुधबारदेखि पुनः १४.२ केजी क्षमताको भरिएको एलपी ग्यास सिलिन्डर बिक्री वितरण सुरु गर्ने जनाएको छ।

निगमले मंगलबार एक सूचना जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जानकारी दिएको हो।

निगमका अनुसार अर्को व्यवस्था नभएसम्म उपभोक्ताले १४.२ केजी ग्यास भरिएको सिलिन्डर प्राप्त गर्नेछन्। निगमले प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य कायम गरी बिक्री–वितरणको व्यवस्था मिलाइएको जनाएको छ।

साथै, भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको उल्लेख गर्दै बजारमा ग्यासको अभाव नरहेको निगमले स्पष्ट पारेको छ। उपभोक्तालाई आवश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न पनि निगमले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार