मलंगवा – सर्लाही प्रहरीले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विशेष सूचनाका आधारमा गत आईतबार दिउँसो मलङ्गवा नगरपालिका – ८ स्थित प्रादेशिक अस्पताल रोडमा रहेको एक सैलुनमा प्रहरीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा सैलुनभित्र कुर्सीमाथि राखिएको कालो प्लास्टिकको झोलाभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार उक्त सैलुन भारतको बिहार राज्य, सितामढी जिल्ला बाजपट्टी – १२ घर भएका ३८ वर्षीय राजेश कुमारले सञ्चालन गर्दै आएका थिए। घटनाको अनुसन्धानका क्रममा पेस्तोल सैलुनमा राखेको आरोपमा भारतको बिहार राज्य, सितामढी जिल्ला सोनवर्षा – १४ निवासी २३ वर्षीय डब्लु कुमारलाई पक्राउ गरिएको छ।
यस्तै, घटनामा सहयोग गरेको आरोपमा भारतको बिहार राज्य, सितामढी जिल्ला सोनवर्षा –१ लालबनी निवासी ३६ वर्षीय महमद अबुलैसलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।





