सर्लाही – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका – २ स्थित कुलेखानी ड्याम नजिक सिमखोलामा आएको आकस्मिक बाढीले बगाएका सर्लाहीका एक युवकको शव दुई दिनपछि फेला परेको छ। मृतक सर्लाहीको बागमती नगरपालिका – १, पानीट्यांकी चोक निवासी महेश कुमार कार्की रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले सञ्चालन गरेको खोजी अभियानका क्रममा घटनास्थलबाट करिब २०० मिटर तल खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा कार्कीको शव फेला परेको हो। शव खोलाभित्र करिब एक मिटर गहिराइमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

कार्की असार २९ गते अपराह्न करिब ३ बजेतिर स्कुटरमा यात्रा गरिरहेका बेला अविरल वर्षापछि सिमखोलामा आएको आकस्मिक बाढीमा परेका थिए। बाढीले स्कुटरसहित उनलाई बगाएपछि तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। तर खोलाको तीव्र बहाव, निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पहिलो दिन उनको अवस्था पत्ता लगाउन सकिएको थिएन।
यसअघि खोजीका क्रममा बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलदेखि करिब २०० मिटर तल क्षतिग्रस्त अवस्थामा फेला परेको थियो। त्यसपछि खोजी कार्यलाई थप तीव्र बनाइएको थियो।
यातायात व्यवस्था कार्यालयको अभिलेखका आधारमा उक्त स्कुटर महेश कुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि भएको थियो। शव फेला परेपछि घटनास्थलमा पुगेका परिवारका सदस्यले पहिचान गरेसँगै मृतक कार्की नै रहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार बाढीको बहावले बगाएका कार्कीको शव बालुवा र लेदोले पुरिएको अवस्थामा फेला परेको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।





