मोटरसाइकलमै शव बोकेर भाग्दै गरेका भारतीय नागरिक सप्तरीबाट पक्राउ

२०८३ असार ३२, बिहीबार १३:००

सर्लाही – सप्तरीमा एक किशोरको शव मोटरसाइकलमा राखेर भाग्दै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् भने घटनामा संलग्न अर्का व्यक्ति फरार रेहका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार शम्भुनाथ नगरपालिका – ६ स्थित कठौना बजार क्षेत्रमा एक १४ वर्षीय किशोरको मृत्यु भएपछि उनको शव मोटरसाइकलमा राखेर घटनास्थलबाट भाग्ने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

मृतक शम्भुनाथ नगरपालिका – ५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक हुन्। उनी परिवारका एकमात्र छोरा रहेको प्रहरीले जनाएको छ। घटना दुर्घटना हो वा योजनाबद्ध हत्या, भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले भारतको मधुवनी जिल्ला, खतौनी पिपराहीका २८ वर्षीय मोहम्मद सादर नटलाई पक्राउ गरेको छ। प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा खटिएको टोलीले बिसनपुर–बोदेबरसाईन सडकखण्डमा शंकास्पद अवस्थामा गुडिरहेको बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकललाई पछ्याएको थियो।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुई जना घटनास्थलबाट करिब ११ किलोमिटर पश्चिम–दक्षिणतर्फ पुगेपछि बोदेबरसाईन नगरपालिका – २ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान नजिक शव फालेर फरार हुन खोजेका थिए।

त्यसक्रममा स्थानीयवासीको सहयोगमा एक जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेकाले उनको खोजी तीव्र पारिएको छ।

साथै घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार