सर्लाही – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई सात वर्ष कैद सजायसँगै तीन लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेपछि सजाय निर्धारण गरेको अदालत स्रोतले जनाएको छ। अभियोगअनुसार एक युवतीलाई सहयोग गर्ने आश्वासन र विश्वासमा पार्दै लामो समयसम्म यौन शोषण गरेको आरोपमा अहिराजविरुद्ध गत वर्ष बलात्कार मुद्दा दर्ता गरिएको थियो।

अनुसन्धानका क्रममा उनीविरुद्ध २०८१ चैत २५ गते पक्राउ पुर्जी जारी भएको थियो भने २०८२ साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि काठमाडौं जिल्ला अदालतले २०८२ साउन १४ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी कारागारमै रहेका छन्।
अदालतले प्रस्तुत प्रमाण, बयान र अन्य आधारहरूको मूल्याङ्कनपछि उनलाई दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। जिल्ला अदालतको उक्त फैसलाविरुद्ध प्रचलित कानुनी व्यवस्थाअनुसार राजेश झा (अहिराज) ले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ।





