सर्लाही – समयमै पर्याप्त वर्षा नहुँदा मधेश प्रदेशमा यस वर्ष असार महिनाको अन्त्यसम्म करिब ५८ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। ढिलो गरी वर्षा सुरु भएपछि किसानले रोपाइँलाई तीव्रता दिएका भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको कृषि अधिकारीहरूले बताएका छन्।
मधेश प्रदेश कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका अनुसार प्रदेशभर धान खेती हुने कुल क्षेत्रफलमध्ये ५७.९३ प्रतिशत जमिनमा मात्रै असार मसान्तसम्म रोपाइँ सम्पन्न भएको हो। जिल्लागत रुपमा सिरहामा सबैभन्दा बढी ८० प्रतिशत क्षेत्रफलमा धान रोपिएको छ भने महोत्तरी सबैभन्दा पछाडि रहेको छ, जहाँ ३९.५९ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ।

निर्देशनालयका अनुसार सप्तरीमा ६८ हजार हेक्टरमध्ये करिब ३४ हजार हेक्टर, सिरहामा ५४ हजार हेक्टरमध्ये ४३ हजार २०० हेक्टर, धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये २१ हजार ८५० हेक्टर तथा महोत्तरीमा ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ।
त्यस्तै, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५ सय हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १ सय हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये करिब ३५ हजार ५९.७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग बढाउनुका साथै रासायनिक र प्राङ्गारिक मलको सन्तुलित प्रयोगमा समेत ध्यान दिएका छन्। तर केही क्षेत्रमा मलको सहज उपलब्धता र पर्याप्त सिँचाइ पूर्वाधारको अभाव अझै पनि किसानका लागि मुख्य चुनौती बनेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।





