सर्लाही – कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका – ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले मंगलबार पटेललाई उनकै वडा हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो।
गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार गरेको घटनामा उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत असार २३ गते गाउँ कार्यपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै विरोध जनाएका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै, घटनामा संलग्न रहेको आशंकामा अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।





