सर्लाही – धान रोपाइँको व्यस्त समयमा रासायनिक मलको अभाव भएपछि भारतबाट मल ल्याउन गएका सर्लाहीका दुई किसान दाजुभाइ २२ दिनदेखि भारतीय कारागारमा बन्दी जीवन बिताइरहेका छन्।
सर्लाहीको बलरा नगरपालिका – ५ निवासी ५५ वर्षीय सुरेशप्रसाद सिंह र उनका दाजु ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई भारतीय सुरक्षा निकायले गत असार १७ गते नियन्त्रणमा लिएर मल तस्करीको आरोपमा मुद्दा चलाएको हो।

परिवारका सदस्यका अनुसार नेपालमा आवश्यक मल सहज रूपमा उपलब्ध नभएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षाबाट मल खरिद गरी साइकलमा घर फर्किरहेका थिए। सो क्रममा दुई बोरा युरिया र छ बोरा डीएपी मल बोकेको अवस्थामा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
पक्राउपछि सुरुमा सोनवर्षा प्रहरीको हिरासतमा राखिएका दुवै जनालाई पछि भारतको बिहार राज्य, सीतामढी जिल्लास्थित डुमरा कारागारमा पठाइएको छ।
थुनामा रहेका नागेन्द्रप्रसाद सिंहका ज्वाइँ प्रवीन सिंहले बिभिन्न मिडियामा बताए अनुसार अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया अपेक्षित रूपमा अघि नबढेकाले उनीहरूको धरौटीमा रिहाइ हुन सकेको छैन। डुमरास्थित अदालतले असार २५ गते नै सोनवर्षा प्रहरीसँग घटनासम्बन्धी कागजात माग गरे पनि हालसम्म बेलको प्रक्रिया टुंगिन नसकेको उनले बताए।
उनीहरूको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल पनि अघि बढाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग समन्वय गरी कानुनी प्रक्रिया पूरा गरेर धरौटीमा रिहा गराउने प्रयास गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि घटनाबारे गृह मन्त्रालयलाई औपचारिक जानकारी गराइसकेको र त्यसपछि आवश्यक समन्वय भइरहेको जनाएको छ। यद्यपि, पक्राउ परेको तीन साताभन्दा बढी समय बितिसक्दा पनि रिहाइ हुन नसकेपछि सिंह दाजुभाइका परिवारजन चिन्तित बनेका छन्।
नेपालमा मल अभावका कारण भारतबाट मल ल्याउने क्रममा उनीहरू जेल पुग्नुपरेको घटनाले सीमावर्ती क्षेत्रका किसानले भोग्दै आएको समस्यालाई पुनः उजागर गरेको छ।





