सर्लाही – देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशका पहाडी, हिमाली तथा तराईका केही क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल औसत अवस्थामै रहेकाले मौसममा यसको प्रभाव कायम छ। अहिले देशका अधिकांश हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाको पूर्वानुमानअनुसार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदलीको अवस्था रहनेछ। पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसका साथै लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज रातिको मौसम पनि देशभर सामान्यतया बदली रहनेछ। राति पनि हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।




