सर्लाहीमा दिनदहाडै हतियारधारी समूहको आक्रमण, सुनको सिक्री र मोबाइल लुटियो

२०८३ श्रावण १२, मंगलवार ०८:४३

सर्लाही – सर्लाहीको कविलासी नगरपालिका सलेम्पुरस्थित चमेलीमाई मन्दिर नजिकै दिनदहाडै लुटपाट भएको छ। करिब १० जनाको हतियारधारी समूहले आक्रमण गरी दुई युवाको सुनको सिक्री र मोबाइल फोन लुटेको पीडितले बताएका छन्।

बरहथवा निवासी सुनिल महतो र राहुल यादवका अनुसार उनीहरू मलङ्वाबाट घर फर्किने क्रममा सलेम्पुरस्थित चमेलीमाई मन्दिर नजिकै रहेको एक किराना पसलमा चिसो पेय पदार्थ पिइरहेका बेला अज्ञात हतियारधारीहरूको समूह अचानक आइपुगेको थियो।

पीडितका अनुसार लुटेराहरूले एक्कासि रडले आक्रमण गरेका थिए। आक्रमणबाट उनीहरू घाइते भएपछि लुटेराहरूले उनीहरूको घाँटीमा रहेको सुनको सिक्री तथा मोबाइल फोन लुटेर फरार भएका थिए। घटना चमेलीमाई मन्दिरको मुख्य गेट अगाडि भएको बताइएको छ।

घटनापछि पीडितहरूले प्रहरीलाई जानकारी गराएका छन्। घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार