सर्लाहीमा तनाव र आगजनी भएको खबर भ्रामक : जिल्ला प्रहरी कार्यालय

२०८३ श्रावण १४, बिहीबार १६:०२
File image

मलंगवा – सामाजिक सञ्जाल फेसबुकमा सर्लाहीमा दुई समूहबीच झडप भएको र ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको भन्ने समाचार भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

‘कालिका एफ एम’ नामक फेसबुक पेजबाट “सर्लाहीमा पनि तनाव : दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी” शीर्षकमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त समाचारमा सत्यता नरहेको स्पष्ट पारेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हाल जिल्लाको वस्तुस्थिति सामान्य तथा शान्तिपूर्ण रहेको छ। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएर सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न र नगराउन प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रहरीले तथ्यहीन तथा भ्रामक सूचना सम्प्रेषण गरी समाजमा तनाव वा असहज स्थिति सिर्जना गर्ने व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ। जिल्ला प्रहरी कार्यालयले सामाजिक सञ्जालमा प्रसारित सूचना साझा वा प्रचार गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार